
काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बुधबार पनि जारी छ। मंगलबारबाट पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सुरु भएको बैठकमा ४ वटा कार्ययोजनाहरू प्रस्तुत भएका थिए।
हिजाे पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिका विषयमा गहनतम विश्लेषणात्मक, संश्लेषणात्मक आफ्नो अहिलेको राजनीतिक घटनाक्रमको बारेमा समीक्षासहितको राजनीतिक विश्लेषण प्रस्तुत गरेका थिए।
त्यस्तै, पार्टीव्यापी रूपमा सञ्चालन हुने ०८१ को वैशाखदेखि सञ्चालन हुने पार्टीको शुद्धीकरण तथा सुदृढिकरणसम्बन्धी कार्ययोजना पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरूलाई कार्यान्वयन गर्ने र समायानुकूल पार्टी निर्माण गर्ने खालको एउटा विषय पार्टीका उपाध्यक्ष विष्णु पौडेल, पार्टीको संगठनात्मक कामको समीक्षाको विषयमा पार्टीका महासचिव शंकर पोखरेल र पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेका जनसरोकार र जनदबाबको कार्यक्रमको खाका प्रस्तुत गरेका थिए।
खाकासम्बन्धी प्रस्तुत गरिएका कार्ययोजना र प्रस्तावहरूमाथि छलफल गर्नका निम्ति समग्र केन्द्रीय कमिटीको टिमलाई नौवटा समूहमा विभाजन गरिएको छ ।
सम्पूर्ण पार्टी स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह र बाँकी एउटा समूह उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरू गरी नौ समूहमा आजबाट छलफल प्रारम्भ हुने बताइएकाे छ।