
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । राष्ट्रिय सभामा रहेका ४ दलको सहयोगमा दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दलको सहयोगमा दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् ।
दाहाललाई माओवादीका सांसद गोपीबहादुर अछामीले अध्यक्ष पदमा निर्वाचित गरियोस् भनेर प्रस्ताव गरेका थिए भने एमालेका सांसद देवेन्द्र दाहाल, एकीकृत समाजवादीका सांसद डा.बेदुराम भुसाल र जनता समाजवादीका सांसद मोहम्मद खालिदले समर्थन गरेका थिए ।
यता कांग्रेसबाट उम्मेदवार युवराज शर्मालाई कांग्रेस सांसद आनन्दप्रसाद ढुङ्गानाले अध्यक्षमा निर्वाचित गरियोस् भनेर प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई कांग्रेस सांसद किरणबाबु श्रेष्ठ र लोसपा सांसद शेखर कुमार सिंहले समर्थन गरेका थिए ।
राष्ट्रिय सभामा सबैभन्दा धेरै माओवादी केन्द्र १८ सदस्यसहित पहिलो दलको भूमिकामा रहेको छ । दोस्रो स्थानमा रहेको कांग्रेसका १६ सदस्य छन् । तेस्रो स्थानमा रहेका एमालेका १० सदस्य रहेका छन् । चौथो स्थानमा नेकपा एकीकृत समाजवादीका ८ सांसद छन् भने जसपाको एक सांसद छन् ।