वीरगन्जमा हनुमान जयन्ती शोभायात्रापछि झडप, कर्फ्यु जारी

3.2k Shares

वीरगन्ज– हनुमान जयन्तीका अवसरमा शनिबार विश्व हिन्दू परिषद् नेपाल वीरगन्ज महानगर समितिले निकालेको शोभायात्रापछि भएको झडपका कारण स्थिति तनावग्रस्त बनेको छ। विश्व हिन्दू परिषद् पर्साका अध्यक्ष धनडित गिरीको नेतृत्वमा अपराह्न ३ बजे वीरगन्जको घण्टाघरबाट सुरु भएको शोभायात्रामा करिब ८०० जना सहभागी थिए।


पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार शोभायात्रा श्रीराम हलस्थित जामा मस्जिदनजिक पुग्दा मस्जिदबाट अचानक ढुंगा प्रहार भएपछि दुवै पक्षबीच झडप भएको थियो। स्थिति नियन्त्रण गर्न साँझ ५:४० बजे नेपाल प्रहरीले ५ सेल र सशस्त्र प्रहरीले ६ सेल अश्रुग्यास प्रहार गरेको थियो। झडपमा ८ जना सशस्त्र प्रहरी घाइते भएका छन्, जसमध्ये ३ जनालाई नारायणी क्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।


साँझ ६ बजे प्रदर्शनकारीले स्थानीय पसलबाट एक मोटरसाइकल र एक फ्रिज निकालेर आगजनी गरेका थिए। सुरक्षाकर्मीले पानीको फोहरा प्रयोग गरी भीडलाई तितरबितर पारेका थिए।


जिल्ला प्रशासन कार्यालय पर्साले साँझ ६:३० बजेदेखि चैत ३१ गते मध्यरात १२ बजेसम्म भेडियाही चोक, सिर्सिया पुल, गण्डक चौक र शंकराचार्य गेट क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्यु अवधिमा उक्त क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा वा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ।


प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले हनुमान जन्मोत्सवका अवसरमा उत्पन्न तनावपछि शान्ति र सुरक्षा कायम गर्न कर्फ्यु जारी गरिएको बताए। “तनावको पूर्ण विवरण आइसकेको छैन। केही प्रहरी र अन्य व्यक्तिहरू घाइते भएको जानकारी छ,” उनले भने। पर्सा प्रहरीका अनुसार अहिले स्थिति सामान्य बनेको छ।

ताजा अपडेट
सम्बन्धित समाचार