नयाँ वर्षमा नयाँ सरकारको सम्भावना: प्रचण्डको संकेत

2.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
 
चितवन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षमा नयाँ सरकार गठन हुने संकेत गरेका छन्। आज गृहजिल्ला चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले नयाँ घटनाक्रमहरू विकसित भएको र ‘नयाँ अनुभव’का आधारमा यो कुरा गरेको बताए।
 
नयाँ वर्षमा नयाँ सरकारको सम्भावनाबारे पत्रकारहरूको प्रश्नमा प्रचण्डले भने, “परिस्थिति यस्तो बन्दैछ कि यो सरकार लामो समय टिक्न गाह्रो छ भन्ने देखिन्छ। त्यसैले कुनै पनि सम्भावना खुला छ।” उनले वर्तमान सरकारप्रति जनताको आक्रोश बढेको र सत्तारूढ दलहरू पनि ‘झण्डै सडकमा’ पुगेको दाबी गरे। “नयाँ वर्षले केही न केही निकास ल्याउँछ भन्ने मलाई लाग्छ,” उनले थपे।
 
यसअघि एक टेलिभिजन अन्तर्वार्तामा प्रचण्डले नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्न सक्ने आशय व्यक्त गरेका थिए। तर, सो विषयमा थप स्पष्ट पार्न पत्रकारहरूले आग्रह गर्दा उनले धेरै नबोल्न अनुरोध गरे। यद्यपि, उनले ठूलो दलको नेतृत्वमा सरकार बन्दा उपयुक्त हुने आफ्नो पुरानै मान्यता रहेको र हालका नयाँ घटनाक्रमले देश त्यही दिशामा अघि बढ्ने अनुमान गरे।
 
“पछिल्ला घटनाक्रमहरू नयाँ छन्। केही नयाँ अनुभवका आधारमा मैले यो कुरा गरेको हुँ। मलाई लाग्छ, देश त्यतै जान्छ,” उनले भने। प्रचण्डले धेरै बोल्न नलगाउन आग्रह गर्दै थप विवरण दिनबाट जोगिए।
 
माओवादी केन्द्रको ध्यान सरकारमा जानेतर्फ नरहेको उनको दाबी छ। “हाम्रो ध्यान सरकारतिर त्यति छैन,” उनले भने।
ताजा अपडेट
सम्बन्धित समाचार