झलनाथ खनाल [ Jhala Nath Khanal ]
नेकपा (एमाले)का वरिष्ठ नेता

About


झलनाथ खनाल नेपाली कम्युनिष्ट आन्दोलनका एक नेता हुन्। २०६७ माघ २०मा प्रधानमन्त्री निर्वाचित भएका खनाल नेकपा (एमाले)का वरिष्ठ नेता पनि हुन्। वि. सं. २००६ साल चैत ६ गते इलाम जिल्लाको साँखेजुङमा जन्मेका खनाल हाल इलाम जिल्ला क्षेत्र नं. १ बाट संविधान सभा सदस्यमा निर्वाचित भएका हुन्। [१]। खनाल पटक पटक मन्त्री पनि भएका थिए। विद्यार्थी जीवनदेखि भूमिगत कम्युनिष्ट राजनीतिमा लागेका खनाल तत्कालिन नेपाल कम्युनिष्ट पार्टी मालेको पोलिटब्यूरो सदस्य हुँदै महासचिव सम्म भएका थिए। २०४७ सालमा नेकपा मार्क्सवादी र नेकपा माले मिलेर नेकपा एमाले भएपछि सो पार्टीको स्थायी समिति सदस्य रहँदै आएका यिनी २०६६ सालको बुटवल अधिवेशन पछि एमालेको अध्यक्षमा निर्वाचित भएका हुन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्र र इतिहासमा स्नातक उनले वि.सं. २०२५ सालमा पार्टी सदस्यता प्राप्त गरेका थिए। कम्युनिष्ट पार्टीको सदस्यता लिएसंगै राजनीतिक यात्राको सुरूवात गरेका खनालले ३३ वर्षको उमेरमा नेकपा मालेको महासचिव रहेका बेला सोही पार्टीकी काठमाडौँ जिल्ला सदस्य रविलक्ष्मी चित्रकारसँग जनवादी विवाह गरे। राजनीतिक जीवनको सुरूवातसंगै विज्ञान विषयको शिक्षकका रूपमा जागीरे जीवन बिताए। उनी २०२३ सालमा मेची विद्यार्थी युनियनको अध्यक्ष भएका थिए। राजनीतिमा संलग्न भएकै कारण जागीर गुमाउन बाध्य भएपछि खनाल पूर्णरूपमा राजनीतिमा सकि्रय भएका थिए। २०३४ सालमा नेकपा मालेको स्थापनामा संस्थापकीय भूमिका निर्वाह गरेका खनाल २०४७ सालसम्म लगातार नेकपा मालेको महासचिव रहे। २०४६ सालताका संयुक्त वाममोर्चाको गठनका लागि पनि खनालको नेतृत्वदायी भूमिका थियो। त्यसयता नेकपा एमालेको पाचौं छैठौ र सातौ महाधिवेशनपछि एमालेको केन्द्रीय पोलिटब्यूरो र स्थायी कमिटीमा रहेर काम गरेका खनाल २०६४ सालको संविधान सभाको निर्वाचनमा नेकपा एमालेले लज्जास्पद पराजय ब्यहोरे लगत्तै तत्कालिन महासचिव माधव नेपालले राजीनामा दिएपछि खनालले एमाले महासचिवको जिम्मेवारी सम्हाले। पछिल्लो पटक बुटवलमा सम्पन्न नेकपा एमालेको आठौ महाधिवेशनबाट नेकपा एमालेको अध्यक्षमा निर्वाचित भएका हुन्। [२]